काठमाडौं– विपक्षी गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालसहितको सोमबारको बैठकले लोकतन्त्रको रक्षाका लागि गठबन्धन अपरिहार्य बनेको निष्कर्ष निकालेको छ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको नेताहरुको बैठकले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभइ, राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको निष्कर्ष निकालेको हो। जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न पनि गठबन्धन बनेको नेताहरुले निष्कर्ष निकालेका छन्।
सोमबारको बैठकमा नेताहरुले एकआपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएका पनि एमाले वरिष्ठ नेता नेपालको सचिवालयले जानकारी दिएको छ।
सोमबारको बैठकमा कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गर्ने निष्कर्ष निकालिएको पनि नेता नेपालको सचिवालयले जानकारी दिएको छ।
यस्तै, अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल भएको र अदालतको निष्पक्षतामामाथिको विश्वासलाई प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराइएको जनाइएको छ।
राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरुको भूमिकाको निष्पक्षता र निर्णय क्षमताका विषयमा पनि छलफल भएको जनाइएको छ। नेताहरुले केही संवैधानिक निकायको निर्णय क्षमतामा आशंका गर्दै निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराउने निचोडसमेत निकालेका छन्।
देउवा, प्रचण्ड र नेपालबीचको सोमबारको बैठकमा पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो एवम् चिन्ता व्यक्त गरिएको र शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि नेता नेपालको सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समय नेकपा एमालेभित्रको आन्तरिक विवाद समाधानउन्मुख रहेको चर्चा चलिरहेका बेला देउवा र प्रचण्ड, नेपाललाई भेट्न सोमबार साँझ कोटेश्वर पुगेका हुन्। नेपाललाई भेट्न सोमबार अपराह्न शुरुमा कांग्रेस सभापति देउवा कोटेश्वर पुगेका थिए। देउवा पार्टी महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।
देउवा र नेपालबीच छलफल चल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेका थिए। नेताहरुबीच करिब डेढ घण्टा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।