काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोटेश्वर पुगेका छन्।
नेता नेपालको कोटेश्वरस्थित निवासमा देउवा, प्रचण्ड र नेपालसहितका नेताहरुबीचको छलफल जारी रहेको कांग्रेस सभापति देउवा निकट एक नेताले जानकारी दिए।
शुरुमा सोमबार अपाराह्न नेपाललाई भेट्न कांग्रेस सभापति देउवा र महामन्त्री पूर्णबहादुर खड्का कोटेश्वर पुगेका थिए। देउवा पुगेको केही समयपछि प्रचण्ड पनि कोटेश्वर पुगेका हुन्।
देउवा भने निकै लामो समयपछि नेपालनिवास पुगेका हुन्। यसअघि नेता नेपाल छलफलका लागि देउवानिवास बुढानीलकण्ठ जाने गरेका थिए।
एमाले भित्रको विवाद समाधानउन्मुख रहेको चर्चाबीच देउवा र प्रचण्ड नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्। एमालेको नेपाल पक्ष कांग्रेस र माओवादीसहितको विपक्षी गठबन्धनमा छ।
नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समेत हस्ताक्षर गरेका छन्। जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदेशस्तरमा समेत सहकार्य गरेर जाने विपक्षी गठबन्धनले निर्णय गरेको थियो। जसअनुसार राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट नेपालनिकट खिमलाल देवाकोटा र लुम्बिनी प्रदेशमा कांग्रेसका दृगनारायण पाण्डे उम्मेद्वार बनाइएका थिए। यी दुवै उम्मेद्वारले एमाले उम्मेद्वारलाई पराजित गरेका थिए।
तर, पछिल्लो समय बागमती प्रदेश र प्रदेश १ मा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गराउन एमालेका दुवै पक्ष एकठाउँ उभिएका छन्। यी दुवै प्रदेशमा नेपाल पक्षको मत राम्रो छ। तर, दुवै प्रदेशमा ओलीपक्षका मुख्यमन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।