काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
सोमबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बाबुराम-उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठकले कानुन व्यवसायीसँग परामर्श गरेर सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै बाबुराम- उपेन्द्र पक्षले त्यसलाई अदालतमा चुनौती दिन लागेको हो।
निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टी(जसपा) को दुवैपक्षको निर्णयलाई आधिकारिकता नदिने निर्णय गरेको थियो।
आयोगको बैठकले पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेको थियो। आयोगले साविकका दुवै अध्यक्ष कायम रहने निर्णय गरेको थियो।
आयोगको निर्णयलाई जसपाको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षले ’अनपेक्षित’ भनेको छ। जबकि महन्थ ठाकुर– राजेन्द्र महतो पक्षमा नेताहरु भने आयोगको निर्णयबाट खुसी छन्।
'स्पष्ट बहुमत भएको राजनीतिक पार्टीको कार्यकारिणी समितिले गरेकाे निर्णयलाई नमान्ने आयोगले जुन निर्णय गरेको छ त्यसमा हामी गम्भीर छाैं', जसपा नेता नवराज सुवेदीले भने, 'यस विषयमा हामी कानुनी परामर्शमा लागेका छाैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।