काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) को दुवैपक्षको निर्णयलाई आधिकारिकता नदिने निर्णय गरेसँगै अध्यक्ष उपेन्द्र यादव पक्ष छलफलमा जुटेको छ।
सोमबार बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाका अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको हो। आयोगको निणयपछि अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी र सांसदहरुको बैठक पनि बसिरहेको छ। बबरमहलस्थित कार्यालयमा उक्त पक्षको बैठक बसेको हो।
आयोगको निर्णयलाई जसपाको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षले ’अनपेक्षित’ भनेको छ। जबकि महन्थ ठाकुर– राजेन्द्र महतो पक्षमा नेताहरु भने आयोगको निर्णयबाट खुसी छन्।
आइतबार आयोगको बैठकले पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेको थियो।
आयोगले साविकका दुवै अध्यक्ष कायम रहने निर्णय गरेको थियो। ’विधानतः केन्द्रीय समितिका दुईजना अध्यक्ष केन्द्रीय कार्यकारिणी समितिमा रहने व्यवस्था भएकोमा एक जना अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भई अर्का अध्यक्ष महन्थ ठाकुरसमेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको देखिन्छ। एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन,’ आयोगको निर्णयमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।