काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन्।
सभामुख थापाले भने- ‘हुन्छ भन्ने संख्याभन्दा हुन्न भन्ने संख्या न्यून देखिएकोले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति बहुमतले पारित भएको घोषणा गर्दछु।’
प्रदेशको आगामी नीति तथा कार्यक्रममा नेकपा (एमाले)को माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका र नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरु पारित गर्नुपर्ने पक्षमा थिए भने एमालेकै केपी शर्मा ओली पक्षका प्रदेश सभा सदस्यहरु विपक्षमा थिए।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरु भने तटस्थ रहेका थिए। प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको अनुपस्थिति रहेको थियो।
नीति तथा कार्यक्रम पारित गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए। यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ। यद्यपि, ओली पक्ष भने सत्ताबाहिर छ। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ। प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।