काठमाडौं- दोस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन पुगेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा गैरकानुनी रुपमा मन्त्रिपरिषद् विस्तार गरेको दाबी गर्दै निवेदन दिएका हुन् ।
दोस्रोपटकको मन्त्रिपरिषद् विस्तारविरुद्ध आइतबार सर्वोच्च अदालतमा पूरक निवेदन पेश गरेको त्रिपाठीले जानकारी दिए। यो निवेदन सीधै इजलासमा पेश हुने उनले भनाइ छ।
त्रिपाठीको निवेदन असार ८ गते इजलासमा पेश हुनेछ। यसअघि नै मन्त्रिपरिषद् विस्तारविरुद्धको निवेदनलाई सर्वोच्चले दोस्रो सुनुवाइको पेशी तोकेकाले सोही दिन इजलासमा पेश गर्न लागिएको हो।
यसअघि न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले ‘पदमुक्त भएर काम चलाउ भएको सरकारले मन्त्रिपरिषद् विस्तार किन गरेको हो?’ भनी लिखित जवाफसहित कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्चले उक्त मुद्दामा माग गरेको लिखित जवाफसमेत पेश नगरी दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकाले अब हुने संयुक्त इजलासले सबै खारेज गर्नुपर्ने माग निवेदनमा गरिएको छ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक मन्त्रिपरिषद्को व्यापक विस्तार गरिएको थियो। सोलाई बदर गरि पाऊँ भनि उनले रिट दायर गरेको थिए। उक्त रिटमा अन्तरिम आदेशसम्बन्धी छलफलका लागि सर्वोच्च ले विपक्षीहरुलाई झिकाउने आदेश गरिसकेको अवस्था समेतलाई अनदेखा गरेर दोस्रोपटक जेठ २७ गते पुनः मन्त्रिपरिषद्मा नयाँ नियुक्ति तथा हेरफेर गरिएको थियो। सो निर्णयलाई रोक्नुपर्ने त्रिपाठीको निवेदनमा उल्लेख छ।
यसरी भएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरि नयाँ नियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्न रोक्न आदेश जारी गर्न निवेदनमा माग गरिएको छ।
पूरक निवेदनमा दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारसमेत प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको एवं संबिधानको धारा २, ७४, ७७ (ग) एव संबिधानको धारा ७७ (३) को प्रतिकूल रहेको दावी गरिएको छ।
संबिधानको धारा ४६,१३३ (२०)३० बमोजिम मिति २०७८/२/२७ गते समेतको प्रधानमन्त्रीको सिफफारिश एवं सो सिफारिश बमोजिम सोही मितिमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन तथा सोबाट निसृत सबै कामकारबाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गर्न निवेदनमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।