काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार पदमुक्त भए। उनलाई नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिस्थापन गरेका हुन्। कृष्णचन्द्रलाई माओवादी केन्द्र, जसपा, राजपा र स्वतन्त्र सांसद्ले सहयोग गरेका छन्। विपक्षी गठबन्धन प्रभावशाली हुँदा गुरुङको सत्ता पल्टिएको हो।
एमाले ब्युँतिएपछि केही महिना निकै शक्तिशाली भएका ओलीलाई पछिल्ला हप्तामा एकपछि अर्को क्षति हात लागेको छ। उनले केन्द्रीय सत्ता राजनीतिमा हैरानी बेहोरेका छन् नै, प्रदेश-प्रदेशमा क्षतिको लहरो फैलिएको छ। पार्टीलाई एक ढिक्का बनाउन नसक्दा प्रदेशहरुमा घात-प्रतिघात सुरु भएको छ। त्यसको फाइदा भने कांग्रेस-माओवादीले उछिट्याउन थालेका छन्।
केन्द्रमा केन्द्रमा आफ्नै पार्टीभित्र प्रतिपक्षको जस्तो भूमिकामा रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई दिनप्रतिदिन कमजोर तुल्याउन सफल भए पनि प्रदेशहरुमा त्यसले ‘विद्रोह’ निम्त्याइरहेको छ। कर्णाली, सुदूरपश्चिम हुँदै गण्डकी आइपुगेको परकम्पले त्यसैलाई पुष्टि गर्छ। अदालतका फैसलाले समेत उनलाई रक्षात्मक बनाउँदै लगेको छ।
वैशाख ३ गते माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। ४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रको १२ सिट मात्रै थियो। उसलाई कांग्रेस सांसदले त सघाए नै, एमालेका सांसदहरुले समेत ‘फ्लोर क्रस’ गरेर सहयोग पुर्याए।
फ्लोर क्रस गरेका सांसद्हरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीले कारबाही गरेको थियो। तर, सो कमिटीले गरेको कारबाही अवैध भन्दै सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएको छ।
एमालेका मुख्यमन्त्रीहरुले आफ्नै सांसदहरुबाट त्रसित हुनुपर्ने अवस्था आइपरेको छ। वैशाख १९ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका सांसदहरुबाट असहयोग हुने आशंकामा प्रदेश सभाको विशेष अधिवेशन सुरु हुनुभन्दा केही घण्टाअघि राजीनामा घोषणा गरेका थिए। उनी सोही दिन विवादास्पद प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त भएका थिए।
सुदूरपश्चिम प्रदेशमा त एमालेको स्थायी कमिटी बैठकले गरेको निर्णय नै प्रदेश संसदीय दलले अस्वीकार गरिदियो। जेठ १० गते एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, एमालेको माधवकुमार नेपाल पक्षको बहुमत रहेको प्रदेश संसदीय दलको जेठ १२ गतेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको थियो। सोही अनुसार जेठ २५ गते एमालेका २४ मध्ये १७ जनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएका थिए।
ओलीप्रतिको प्रतिशोध प्रदेशमा मात्रै नभई स्थानीय तहसम्म फैलिएको पुष्टि गर्छन्, पछिल्ला राष्ट्रिय सभा निर्वाचनले। जेठ ६ गते बागमती प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा 'बादल' पराजित भए। बादललाई जिताउन प्रधानमन्त्री ओलीले मौन अवधि सुरु भइसकेपछि सार्वजनिक रुपमै आह्वान गरेका थिए।
‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेद्वार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ। तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीद्वारा जेठ ५ गते जारी विज्ञप्तिमा भनिएको छ।
तर, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षले मत खसाल्ने राष्ट्रिय सभाको निर्वाचनमा एमालेका तर्फबाट बागमती प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी बनाइएका दुवै जनाले हारे।
ओलीलाई अदालतको निर्णयले पनि नैतिक संकटतिर धकेलिरहेको छ। केही साताकै बीचमा कर्णालीका सांसदको पुनर्बहाली भयो। यो फैसलाले ओलीले गठन गरेको महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न खडा गरेको छ।
माओवादी केन्द्र त्यागेर ओलीलाई साथ दिएका सात मन्त्रीको पद गुम्यो। जसले गर्दा उनीहरुको व्यवस्थापनमा समस्या पैदा भएको छ। अर्कोतिर, महन्थ ठाकुर र राजेन्द्र महतोलाई सत्तासम्म डोहोर्याउन जारी गरिएको नागरिकता अध्यादेश पनि सर्वोच्चले खारेज गरिदिएको छ। यस्ता फैसलाले उनले ल्याएका बजेटदेखि अन्य अध्यादेशमाथि पनि प्रश्न उब्जिएका छन्।
प्रधानमन्त्रीमा टिकिरहन ओली आफैंले अनेक त्यान्द्रा समातिरहेका छन्। जेठ २१ र २७ गते उनले गरेको मन्त्रिपरिषद् पुनर्गठन अस्वाभाविक छ। प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गरेको कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन नगर्ने प्रचलनका विपरीत उनले मन्त्रिपरिषद्मा २० नयाँ सदस्य थपेका छन्।
अर्कोतिर, सरकारको नेतृत्वकर्ता एमालेभन्दा कैयौँ गुणा सानो रहेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई हाराहारीमा मन्त्री संख्या दिइएको छ। त्यस्तै, प्रदेश सभाबाट पदमुक्त भएका, यसअघि आफैंले बर्खास्त गरेका, विवादित भएकाहरुलाई मन्त्रिपरिषद्मा लाइन लगाएर प्रवेश गराइएको छ।
अनेकन क्षतिका बीचमा पनि उनले केन्द्रमा भने माधव नेपाल पक्षका धेरै नेता आफूतिर तान्न सफल भएका छन्। २७ गते गरिएको मन्त्रिपरिषद् विस्तारमा समेत नेपाल पक्षका नेता गणेश पहाडी ओलीतिर लागेर मन्त्री नियुक्त भए। अन्य कतिपय नेताहरु पनि ओलीतिर खुल्दै गएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तिम दिनहरुमा ओली निकै कमजोर देखिएका थिए। पार्टी कमिटीमा दुई तिहाइ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल पक्षमा थियो। संसदीय दलमा पनि उनीहरुकै बहुमत थियो। तर, २०७७ फागुन २३ गते सर्वोच्चले नेकपाको एकता भंग भएको आदेश सुनाएपछि उनी एकाएक बलिया भए। किनकि, उनले आफूखुशी सञ्चालन गर्न सक्ने पार्टी ब्युँतिएको थियो।
एमाले ब्युँतिएसँगै उनले नेकपामा ‘दुःख दिने’हरुमाथि प्रतिशोध साँध्न सुरु गरे। नेकपामा हुँदा प्रचण्डलाई साथ दिएकाहरुलाई एमालेमा जिम्मेवारीविहीन बनाउनेदेखि आफू अनुकूल व्यक्ति चयन गर्ने र जिम्मेवारी दिने गर्न थाले। तर, ब्युँतिएको एमालेको एउटा पनि पूर्ण बैठक नबस्दै यतिबेला एमाले विभाजनको संघारमा पुगेको छ। यो संक्रमणकालमा ओलीले महत्त्वपूर्ण घटनाक्रममा क्षति बेहोर्दै गएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।