काठमाडौं- प्रदेश २ को सरकारमा सहभागी हुने मन्त्रीहरु एकपक्षीय भएको भन्दै कांग्रेसभित्र विवाद देखिएको छ। मन्त्रिमण्डलमा सहभागी भएका तीन जना पार्टी संस्थापन पक्षका हुन्। संसदीय दलका नेता रामसरोज यादवले मन्त्रिमण्डलमा जाने व्यक्तिको टुंगो लगाउन संसदीय दलको बैठकमा समेत छलफल नगरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सांसदले बताएका छन्।
गत बुधबार संसदीय दलका नेता यादवको नेतृत्वमा कांग्रेसबाट तीन जना मन्त्री बनेका थिए। यादवले भौतिक पूर्वाधार, वीरेन्द्र प्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद र ओमप्रकाश शर्माले ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यादव, सिंह र शर्मा तीनै जना पार्टी सभापति शेरबहादुर देउवा पक्षीय हुन्। उपसभापति विमलेन्द्र निधिको तजविजमा संस्थापन पक्षले आफ्ना मात्रै मन्त्रिमण्डलमा सहभागी गराएको संस्थापनइतरको आरोप छ।
कांग्रेसका १९ जना सांसद प्रदेश सभामा रहेकोमा १३ जना सांसद संस्थापन निकट छन्। संसदीय दलको नेता यादवलाई कांग्रेसले प्राप्त गर्ने मन्त्रालयको नाम र संख्या टुगाउन जिम्मेवारी दिइएको थियो। पौडेल पक्षीय सांसद नरेश यादवले भने, ‘पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि संसदीय दलमा छलफल गर्ने कुरा भएको थियो। कसले कुन मन्त्रालयले लिने छलफल संसदीय दलमा नगराई एकलौटी तरिकाले आफ्ना मान्छे मन्त्री बनाउनुभयो।’
पौडेल पक्षका सांसदले वरिष्ठ नेता पौडेल, उपसभापति निधि र महामन्त्री डा शशांक कोइरालालाई आफ्नो गुनासो सुनाइसकेका छन्। निधिबाट कुनै स्पष्ट जवाफ सांसदहरुले नपाएको बताइएको छ। वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षको एकलौटीका विषयमा कुरा राख्ने बचन दिएका छन्।
ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका पर्साका ओमप्रकाश शर्मा सांसदमा सबैभन्दा कम संसद्मा उपस्थित हुनेमा पर्दछन्। अर्का मन्त्री सिंह संसद्को एक समितिको अध्यक्ष रहेपनि कार्यसम्पादन फितलो रहेको आरोप लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।