काठमाडाैं- म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै बर्मेलीहरुले बेलायतीमा प्रदर्शन गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका उनीहरुले कोर्नवालमा आयोजित जीसेभन राष्ट्रको सम्मेलस्थल नजिकै प्रदर्शन गरेका हुन्।
शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएका थिए। बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन जीसेभन राष्ट्रका नेताहरुलाई आग्रह गरेका थिए।
प्लेकार्डसहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए।
‘म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनस्र्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जीसेभेनका नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौँ ,’ प्रदर्शनमा सहभागी एक बर्मेली युवकले भने।
प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए।
म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागु भएको छ। सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ।
सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।