काठमाडौं- इजरायलमा आज गठबन्धनको नयाँ सरकार (आइतबार) बन्ने अनुमान गरिएकाे छ। वर्तमान सरकारले आज गठबन्धनको नयाँ सरकारलाई अनुमति दिने सम्भावना छ। यससँगै इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षको शासनकाल सकिनेछ।
दक्षिणपन्थी नेता नाफ्टाली बेनेट आलोपालो इजरायली सरकारका प्रधानमन्त्री बन्न लागेका हुन्। नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिनान पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन्। त्यसपछिको दुई वर्षका लागि याइर लपिड प्रधानमन्त्री बन्नेछन्।
इजरायलमा बन्न लागेकाे नयाँ सरकारसँग विपक्षीभन्दा केवल एक सिटमात्रै बढी छ। निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन नसकेपछि इजरायलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो। इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरताको भने अन्त्य हुने विश्वास लिइएको छ।
नेतान्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन्। नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन्। उनले छिटै नै नयाँ सरकार ढालिदिने बताएका छन्।
नेतान्याहूमाथि पनि घुस लिएको, धोकाधडी गरेको र विश्वासघात गरेको आरोपमा मुद्दा चलिरहेको छ। यद्यपि, उनले यी सबै आरोप अस्वीकार गर्दै आएका छन्। नाफ्टाली बेनेट प्रधानमन्त्री बनेसँगै नेतान्याहू दक्षिणपन्थी लिकुड पार्टीका नेता र संसद्मा विपक्षी नेताको रुपमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।