काठमाडौं- प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रदेश २ को मन्त्रिपरिषद् समावेशी नभएको बताएका छन्। उनले मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेख्दै मन्त्रिपरिषद गठन समावेशी नभएको स्मरण गराएका छन्।
आफू प्रदेश २ को प्रमुख मात्र नभइ नागरिक समेत भएको हुँदा प्रदेश सरकारको मन्त्रिपरिषद्को पुनर्गठनको सन्दर्भमा चासो रहेको झाले उल्लेख गरेका छन्।
'प्रदेश सभाको गठन गर्दा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा राजनीतिक दलले उम्मेदवारी दिदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतबाट वन्द सूचीको आधारमा प्रतिनिधित्व हुने तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई सदस्य महिला हुनुपर्ने लगायतका व्यवस्थाहरु संविधानको धारा १७६ मा रहेको छ', प्रदेश प्रमुखले लेखेको पत्रमा भनिएको छ।
प्रदेश २ को सामाजिक साँस्कृतिक र जनसांख्यिक बनोट आफैमा विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै उनले प्रदेश २ मा पहाडी मुलका नागरिक पनि उल्लेख्य मात्रामा बसोबास गरेकोमा उल्लेखित जाति, समुदाय र वर्गको अनुहार प्रतिबिम्वित हुनुपर्ने बताएका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।