काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै जसपाका तर्फबाट प्रदेश प्रमुखलाई लेखिएको भनिएको पत्र फर्जी रहेको बताएको छ।
जसपा गण्डकी प्रदेश समितिको अध्यक्ष भनी अनिल परियारको नामबाट जसपा, नेपालको निर्णय र नीति विपरीत प्रदेश प्रमुखलाई पत्र लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको आइतबार केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
'अनिल परियार जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य पनि नरहेको स्पष्ट गर्दछौं। जनता समाजवादी पार्टी, नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा मोति रिजाल रहनु भएको छ। हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो', विज्ञप्तिमा भनिएको छ।
यस प्रकारको अनधिकृत कार्य नगर्न जसपाले चेतावनी दिएको छ। भविष्यमा यस्ता फर्जी र जालसाजीपूर्ण कार्य गरेको पाइएमा कानुन बमोजिम सजायको भागिदारी हुनुपर्ने जसपाले चेतावनी दिएको छ।
'जनता समाजवादी पार्टी, नेपाल कुनै पनि प्रकारको प्रतिगमन तथा प्रतिगमनकारी र संघीय लोकतन्त्र, गणतन्त्र मास्ने कार्यहरुको विपक्षमा सधै अडिग रहने कुरा पनि यस अवसरमा स्पष्ट पार्न चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।