काठमाडौं- लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विवादमा परेको छ। प्रदेश सरकारले सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक जेठ २४ गते प्रदेश सभामा दर्ता गरेको थियो ।
उक्त विधेयकमा रहेका केही व्यवस्थाले सञ्चारमाध्यमलाई जुनसुकै अवस्थामा सत्तामा रहेका व्यक्तिले अपव्याख्या गर्दै कारबाही गर्ने कानुनी बाटो राखेको देखिन्छ। विधेयकमा भएका व्यवस्था जस्ताको तस्तै पारित भएमा यी कानुनी छिद्र प्रयोग गरि प्रदेश सरकारले संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हमला गर्न सक्ने देखिन्छ।
प्रदेशमा सञ्चारमाध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, सञ्चालन, नवीकरण र नियमन गर्न तथा प्रदेश सञ्चार परिषद् स्थापना लगायतका व्यवस्था विधेयकमा गरिएको छ। प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम चलेका कारण यो विधेयक प्रदेश सभामा भने टेबुल हुन सकेको छैन।
आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्यले यो विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन्। प्रदेश सरकारले यो विधेयकलाई छिट्टै टेबुल गरेर छलफलमा लैजाने तयारी गरेको छ।
के छ विधेयकमा, जसले विवादित बनायो?
विधेयकको केही दफाहरुमा नेपालको संविधान र प्रचलित केही कानुनसँग बाझिने व्यवस्था प्रस्ताव गरिएको छ। श्रमजीवी पत्रकार सम्बन्धी ऐन, सञ्चार तथा छापाखाना सम्बन्धी ऐनले गरेका व्यवस्थासँग बाझिनेगरी कैद, जरिवाना गर्ने, प्रकाशन बन्द गर्ने, दर्ता खारेजी गर्ने र अन्य रुपमा दुःख दिन कानुनी छिद्रहरु प्रशस्त विधेयकमा प्रस्ताव गरेको देखिन्छ।
विधेयक शुरुमै संविधानको धारा १९ को व्यवस्थासँग बाझिएको देखिन्छ। संविधानको धारा १९ को उपधारा (१) मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने उल्लेख छ। तर, विधेयकले प्रतिबन्ध लगाउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। विधेयकको दफा ४५ मा प्रस्ताव गरिएको प्रकाशन र प्रसारणमा रोक लगाउन सकिने प्रावधान संविधानसँग बाझिने देखिन्छ।
प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर प्रकाशन र प्रसारणमा रोक लगाउन सक्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। यस्तो कार्यक्रम वा सामग्री प्रकाशन गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्ने भनेको छ।
सञ्चारमाध्यम सम्बन्धी विधेयकको परिच्छेद ८ को कसूर तथा सजाय सम्बन्धी व्यवस्था पनि आपत्तिजनक देखिन्छ। समाचार लेखेकै भरमा वा प्रकाशन गरेकै भरमा गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय दिने कानुनी व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ। विधेयकको दफा ६९ अनुसार १ वर्ष कैद र जरिवाना हुने भनेको छ भने दफा ७० मा ६ महिना कैद र ५ हजारसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने भनिएको छ।
दफा ६९ मा रजिष्ट्रारले इजाजतपत्र वापत लाग्ने दस्तुर र प्रसारण वा वितरण शुल्क असुल गरी सोही रकम बराबरको रकम जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय गर्न सक्नेछ भनिएको छ।
दफा ७० मा दर्ता नगरी कुनै प्रकाशन प्रकाशित गरेमा त्यस्तो व्यक्तिलाई रजिष्ट्रारले ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ भनिएको छ । दफा ७१ मा झूटा विवरण दिएमा १० हजार, दफा ७२ मा विवरण उल्लेख नगरेमा ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । विधेयकको दफा ७५ मा दर्ता नगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन गरेमा त्यस्तो व्यक्तिलाई ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।
अनलाइन माध्यमले झूटा विवरण पेश गरेमा ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था दफा ७६ मा गरिएको छ भने ७७ मा निर्देशन उल्लंघन गरेमा १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको छ । त्यसैगरी, सञ्चारमाध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रसारण गरेमा सञ्चारमाध्यम बन्द गर्न सकिने उल्लेख छ । यसरी विधेयकले आफूले दिन नचाहेको वा आफूविरुद्ध कुनै सूचना प्रकाशन भएमा यीमध्ये कुनै दफाको व्याख्या गर्दै सजाय गर्न खोज्ने देखिन्छ। सरकारका विरुद्ध समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमहरुलाई लक्षित गर्र्दै विधेयकका यी व्यवस्था दुरुपयोग हुने धेरै खतरा देखिन्छ।
मस्यौदा विधेयकमा पत्रकारलाई दण्ड जरिवानाको व्यवस्था मात्रै गरिएको छैन, कानुन मन्त्रीलाई नै मिडिया काउन्सिलको अध्यक्ष प्रस्ताव गरेको छ। मन्त्रालयका सचिव समेत उक्त काउन्सिलमा हुने देखिएको छ। स्वतन्त्र सञ्चारमाध्यमको अनुगमनका लागि स्वतन्त्र संयन्त्र हुनुपर्ने सरकारकै मन्त्री हुनुले यसको स्वतन्त्रता र प्रभावित हुने कुरामा प्रश्न उठ्ने देखिन्छ। सरकारमा रहेका व्यक्ति र मन्त्रीहरुका बारेमा आएका भ्रष्टाचार र अनियमिताका समाचारहरुमा सरकारले यो संयन्त्रमार्फत नियन्त्रणको दबाब दिनसक्ने देखिन्छ। समग्रमा हेर्दा लुम्बिनी सरकारले मिडियालाई नियन्त्रणमुखी बनाउन खोजेको मस्यौदा विधेयमा देखिन्छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद्बाट धेरै पहिले पास गरेको र भर्खर सचिवालयमा पेश भएकाले विस्तृत रुपमा प्रदेश सभामा छलफल गरेर प्रावधानहरु सच्चाउन सकिने बताए। विधेयकमा रहेका केही व्यवस्था आफूलाई पनि मन नपरेकोले प्रदेश सभामै विस्तृत छलफल हुने उनी बताउँछन्।
विधेयकमा सरकारले भनेका सूचना निःशुल्क प्रसारण गर्नुपर्ने, सञ्चारमाध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रसारण गर्नेलाई कैद तथा नगद जरिवाना गर्ने जस्ता व्यवस्था समेत राखिएको छ। यसले सञ्चार क्षेत्रलाई संकुचन गर्नु सरकारको उद्देश्यका साथै नियन्त्रणमुखी बनाउन खोजेको देखिन्छ।
प्रदेशमा सञ्चारमाध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, संचालन, नवीकरण र नियमन गर्न तथा प्रदेश सञ्चार परिषद्को स्थापनाका लागि आवश्यक व्यवस्था गर्न भन्दै सञ्चारमाध्यम ऐन, २०७८ लागू गर्ने उद्देश्यले ऐन ल्याउन खोजिएको हो। मुख्यतया सञ्चार माध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, सञ्चालन, नवीकरण र नियमनका विषय विधेयकमा उल्लेख छन्।
विधेयक पुनर्लेखन नै हुनुपर्छ : पत्रकार महासंघ
प्रदेश सभामा दर्ता भएको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्नुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए। उनले लुम्बिनी प्रदेशको सञ्चारमाध्यम सम्बन्धी विधेयकको मस्यौदामा पत्रकार महासंघको गम्भीर आपत्ति रहेको बताए।
मस्यौदामा रहेका केही प्रावधानले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने र राज्य संयन्त्रको अनुकूलका सूचनाहरु मात्र प्रकाशन र प्रसारण गराउन खोज्ने मनसाय देखिएको पोखरेलले बताए।
यो विधेयकले प्रेस स्वतन्त्रता संकुचन गर्ने र प्रेस फस्टाउन नक्सने उनको भनाइ छ। ‘पत्रकार महासंघको निष्कर्ष विधेयकको मस्यौदा संविधान र पत्रकारिताका विश्वव्यापी मूल्य-मान्यताविपरीत छ भन्ने हो’, पोखरेलले भने ‘यो ऐन अहिले विश्वभर भएको पत्रकारिताको अभ्यास विपरीत नियन्त्रणमुखी रहेको छ।’
‘दर्ता खारेज, बन्द गराउन सकिने र समाचार लेखेकै भरमा कैद र जरिवाना गर्न सकिने भनी प्रस्ताव गरिएका व्यवस्था आपत्तिजनक छन्’ उनले थने, ‘संविधानले दिएको अधिकारलाई मिचेर प्रावधान राखिएको छ । सैद्धान्तिक रूपमा यो मस्यौदा मान्य छैन।’ शुक्रबार भर्चुअल रुपमा भएको छलफलमा पनि यो विधेयकको मस्यौदा स्वीकार गर्न नसकिने कुरा आएको उनले बताए।
यस्तो छ मस्याैदा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।