काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट बाहिरिएका पृथ्वी सुब्बा गुरुङले गठबन्धन सरकारको आयु लामो नहुने ठोकुवा गरेका छन्। आइतबार बिहान पत्रकार सम्मेलन गरी गुरुङले नयाँ सरकारको आयु लामो नभएको दाबी गरेका हुन्।
शनिबार गठबन्धनका सांसदले गरेको क्रियाकलापप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘कसैलाई दुई घण्टाअघि मुख्यमन्त्री बन्नलाई विधि विधान मिच्न मिल्छ? लोकतन्त्रमा विधि प्रक्रिया हुन्छ’, गुरुङले भने, ‘मुख्यमन्त्रीलाई त्यहीँबाट गलत्याउनुपर्छ भनी जंगली असभ्यता प्रदर्शन गरियो। दाबी गरिसकेपछि घेराबन्दी गर्न जरुरी थिएन।’
प्रदेश प्रमुखले एकल दाबी भएकाले मुख्यमन्त्रीमा कांग्रेस कृष्णचन्द्र नेपालीलाई नियुक्त गरेको विज्ञप्ति निकालेकी थिइन्। तर, आइतबार बोल्ने क्रममा गुरुङले आफ्नो पनि दाबी रहेको बताए।
उनले भने, ‘मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हुँ। २७ जनाको नाम दिएको हुँ। मुख्यमन्त्रीले दाबी गर्नु अपराध हुन्छ?’ १६८ (५) अनुसार सभामुख बाहेक सबैले दाबी गर्न पाउने उनले बताए।
केन्द्रको दबाबको आधारमा आफू बाहिरिन नपरेको उनले प्रतिरक्षा गरे। ‘यहाँ विधि प्रक्रियाले टुंगाएपछि केन्द्रलाई दोष दिनु हुँदैन’, गुरुङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।