काठमाडौं- नेकपा (एमाले)ले कर्णाली प्रदेश सभाका आफ्नो पार्टीका चार जना सदस्यलाई गरिएको कारबाही बदर गर्दै उनीहरुलाई पुनर्वहाली गर्न सर्वोच्चले दिएको आदेशविरुद्ध सर्वोच्चमा पनरवलोकनको निवेदन (भ्याकेट) दर्ता गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई कारबाही गरेपछि उनीहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भएका थिए।
त्यसविरुद्ध दायर रिटमा गत बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनीहरुलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो।
त्यसक्रममा सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीले उनीहरुलाई कारबाही गर्न गरेको निर्णय समेत अवैध ठहर्याएको थियो। एमाले नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जान तयारी भइरहेको बताए।
नेम्वाङले आइतबार दिउँसो नेपाल लाइभसँग भने, 'कानुन व्यवसायी साथीहरुले त्यसका लागि आवश्यक तयारी गरिरहनुभएको छ।' उनले तयारी नसकिएकाले आइतबार नै सर्वोच्च जाने सम्भावना भने नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।