काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी ९ जना मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेको छ। शनिबार बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ जना मन्त्रीलाई आइतबार ७ दिने स्पष्टीकरण सोधिएको हो।
यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ-राजेन्द्र पक्षका चार जनालाई स्पष्टीकरण सोधेको थियो। उनीहरुले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय उपेन्द्र-बाबुराम पक्षले गरेको थियो।
सरकारमा गएका बाँकी ९ जना मन्त्रीलाई ७ दिनमा जवाफ दिन भनेर ४ बुँदे स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण सोधिनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरत्सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ छन्।
यसअघि नै जसपाको बाबुराम-उपेन्द्र पक्षले ओली सरकारका पक्षमा उभिनेहरुलाई निष्कासन गर्ने निर्णय गरिसकेको भए पनि ९ जना मन्त्रीलाई ७ दिने स्पष्टीकरणको मौका दिइएको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।