काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबी गरेपछि तनाव सिर्जना भएको छ। जेठ २७ गतेमात्रै प्रदेश सभामा बहुमत जुटाउन नसकेका कारण पदमुक्त भएका मुख्यमन्त्री गुरुङले ‘विवादास्पद ढंग’ले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयअघि धर्ना दिन पुगेका छन्।
जनमोर्चा सांसद पियारी थापाले आफूहरुलाई भित्र छिर्न नदिइएपछि प्रदेश प्रमुख कार्यालय अघि धर्नामा रहेको जानकारी दिइन्। 'भित्र जान दिइएको छैन। जनमोर्चाका सांसद दुई जना हौं। हिजो दाबी गर्नेमा हस्ताक्षर छ। जसपाका दुई सांसदको पनि हिजो हस्ताक्षर छ। हामी दुई दलको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको पनि दाबी परेको सुनिएको छ,' उनले भनिन्, 'स्पष्ट पार्न हामी ३१ जना नै आएका छौं। भित्र प्रवेश गर्न दिइएको छैन। हामी गेटबाहिर धर्नामा छौं।'
विपक्षी गठबन्धनका तर्फबाट ३१ जनाको उपस्थिति र हस्ताक्षरसहित कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, कामचलाउ मुख्यमन्त्री गुरुङले पनि राजमोबाट पदमुक्त गरिएका सांसद कृष्ण थापा र जसपाको महन्थ ठाकुर पक्षको प्रदेश सभा समितिको हस्ताक्षरसहित दाबी गर्न पुगेका थिए। दोहोरो दाबीको बहाना बनाएर प्रदेश सभा भंग गरिने आशंकाका बीच विपक्षी सांसदहरु प्रदेश प्रमुखको कार्यालयअघि पुगेका हुन्।
जेठ २७ गते गुरुङले विश्वासको मत लिन नसकेपछि शुक्रबार प्रदेश प्रमुख सीता पौडेलले २४ घण्टाको समयसीमा तोकेर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। विपक्षी गठबन्धनले शुक्रबार नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।