काठमाडौं- बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार संसद्मा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेश सभा बैठकको सुरुमै उनले सभामुखसँग समय माग गरेर आत्मालोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता लिएका हु्न्।
नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा बोलेको विषयको क्रिया प्रतिक्रिया धेरै भएको भन्दै उनले आफूले संविधानको १८७ अनुसार बोलेको बताए। त्यस धारा अनुसार संसद्मा निर्धक्क बोल्न पाउने व्यवस्था छ। संसद्मा बोलेको कुराको कुनै ठाउँमा मुद्दा मामिला नहुने संविधानले व्यवस्था गरेको र त्यही अनुसार दिल खुलेर आफ्ना कुरा राखेको उनले बताए।
'यो विषयमा पार्टीको ध्यान पनि आकर्षित भएको छ। आफूले बोलेको कुरामा आत्मालोचना गर्न पार्टीले निर्देशन दिएको छ। प्रधानमन्त्री प्रति व्यक्तिगत रिसिबी पनि होइन। वचनले पनि हिंसा नहोस् भन्ने चाहने व्यक्ति हुँ। महात्मा गान्धीलाई अत्यन्तै सम्मान गर्ने व्यक्ति हुँ' संसदमा उनले भने, 'सत्ता बचाउन प्रधानमन्त्रीले जुनसुकै हतकण्ड अपनाएको देखिन्छ। सत्ता टिकाउन जो सुकैसँग पनि सम्झौता गर्ने प्रमको प्रवृत्ति देखेर भावावेशमा आएर बोलें। आवश्यकता भन्दा बढी स्वतन्त्रताको उपभोग गरें कि जस्तो लागेको छ।'
उनले आफू आवेशमा आएर त्यस्तो अभिव्यक्त दिएको बताए। उनले आफू उक्त अभिव्यक्तप्रति अत्मालोचनासहित फिर्ता लिने भन्दै सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन अनुरोध गरे। वैद्यको अनुरोधपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।