काठमाडौं- नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
शनिबार एक विज्ञप्तिमार्फत उनले वैद्यले वाग्मती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै दोषीलाई कारवाही गर्नुपर्ने माग गरे।
'महात्मा गान्धिलाई नाथुराम गोड्सेले मारेझै ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन्, प्रदेशसभाको बैठकमा प्रधानमन्त्रीलाई हत्या गर्छु भन्ने अभिव्यक्ति विपक्षी गठबन्धनको योजनाअनुसार नै आएको छ,' नेता पोखरेलले भनेका छन्।
प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताले राजनीतिक र वैचारिकरूपमा मात्र नभई भौतिकरूपमा उनलाई सफाया गर्न सक्ने सूचना प्राप्त भइरहेको भन्दै वैद्यको अभिव्यक्ति सोहीअनुसार आएको उनको भनाइ छ।
“प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई प्रदेशसभाबाट निलम्बन गरी तत्कालै पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउन माग गर्दछु”, नेता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो विषय सामान्य होइन, व्यक्तिले मात्र लहडमा बोलेको होइन, यसमा गम्भीर षड्यन्त्र लुकेको छ, यसमा संलग्न सबै दोषी पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।