काठमाडौं- नेपाली कांग्रेसले हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको स्पष्ट पारेको छ।
हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा गर्ने पार्टी नीति नभएको कांग्रेसले जनाएको हो।
शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताउँदै अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत गराइएको उल्लेख गरेका छन्।
अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएकोमा नेपाली कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ।
'आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन,' शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ। हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन।'
पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुने कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।