काठमाडौं– बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिमाथि सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याको धम्की दिइएको भन्दै त्यसलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएका हुन्।
‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्छ।’
एमालेले यस विषयमा नेपाली कांग्रेसकोसमेत गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ।
कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध 'नाथुराम गोड्से खडा हुनुपर्ने' अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।