काठमाडौं– बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा आफूले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्ने बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले आज पनि संसद बैठकमा आफ्नो बोल्ने समय रहेको भन्दै बोली फिर्ता लिएर आत्मालोचना गर्ने बताए। उनले माफी माग्दै विज्ञप्ति निकाल्नेबारे सोचिरहेको बताए।
उनले आफूले बोलेको पूरा कुरा नै नसुनी सानो क्लिप भाइरल बनाइएको भन्दै दुःख व्यक्त गरे। सत्ता जोगाउन प्रधानमन्त्रीले जे पनि गर्ने प्रवृत्तिप्रति आफ्नो भनाइ लक्षित रहेको उनको भनाइ थियो।
कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध 'नाथुराम गोड्से खडा हुनुपर्ने' अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।