काठमाडाैं- नेपाली कांग्रेसले बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा व्यक्त गरेको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद्मा संयम गुमाउन नपाइने भन्दै वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएका हुन्। आवेगको बोली र व्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति नहुने उनको भनाइ छ।
'सडकमा पनि राख्नुपर्ने संयम संसद्मा गुमाउन पाइन्न। आवेगको बोली र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न,' प्रवक्ता शर्माले भने, 'शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।'
उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नहुनेसमेत बताएका छन्।
कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध 'नाथुराम गोड्से खडा हुनुपर्ने' अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।