पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोलाई झापड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ।
बिहीबार फ्रान्सको एक अदालतले म्याक्रोँलाई झापड हान्ने डामिएन टारेललाई चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय सुनाइएको हो। त्यस्तै, उनलाई पाँच वर्षसम्म सरकारी कार्यालयमा काम गर्न र हतियार राख्न प्रतिबन्ध लगाइएको छ।
गत मंगलबार दक्षिणी फ्रान्सको भ्रमणका क्रममा बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा म्याँक्रोलाई टारेल गालमा झापड हानेका थिए।
सीएनएनका अनुसार उक्त घटनालगत्तै म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ।
झापड हानेसँगै टारेल प्रहरीको हिरासतमा छन्। टारेलविरुद्ध सार्वजनिक अधिकारीमाथिको दुर्व्यवहारमा मुद्दा चलाइएको थियो। अभियोजकले राष्ट्रपति म्याँक्रोलाई झापड हान्ने कार्य स्वीकारयोग्य नरहेको र यो हिंसात्मक कार्य भएको दावी गर्दै सजाय माग गरेका थिए।
यो आरोपमा तीन वर्षसम्मको जेल सजाय र ४५ हजार युरो जरिवाना हुन सक्ने व्यवस्था छ। यद्यपि, अदालतमा टारेलले म्याँक्रोलाई झापड नै हान्ने आफ्नो नियत नरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।