काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई अदालतले रोक्नु गलत भएको बताएका छन्। यसलाई रोक्दा नागरिकता सम्बन्धी अवस्था भयावह हुने उनको भनाइ छ।
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि जसपा अध्यक्ष ठाकुर रुष्ट बनेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए।
उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले निर्णय गर्न नसकेको बताए। नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै उनले राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए।
अध्यक्ष ठाकुरले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिए।
उपप्रधान एवं सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए।
देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए। सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्धेश्य प्राप्त गर्न केन्द्रीत हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।