इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
घटनामा ३० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरी अधिकारी हफिज उल्लाहलाई उदृत गर्दै समाचार संस्था एपीले जनाएको छ।
शुक्रबार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ।
सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।
यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको थियो भने सयौं व्यक्ति घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।