मोहन वैद्य।
काठमाडौं- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका युवा र विद्यार्थी संगठनका केही नेता/कार्यकर्ता पक्राउ परेका छन्। सरकारले चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय गरेपछि त्यसको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंको माइतीघरबाट शुक्रबार उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले अखिल क्रन्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, युवा लिगका अध्यक्ष अमिर महर्जन, अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल, केन्द्रीय सदस्य विनोद केसी, सुजन सापकोटा, सुलभ वैद्य, मिनप्रसाद गिरी, सुरेश तामाङलगायत १२ जनालाई पक्राउ गरेको छ।
आफूहरू सबैलाई महेन्द्र पुलिस क्लब पुर्याइएको अखिल क्रन्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुंगा,गिट्टी र बालुवा निकासी गर्ने कार्यक्रम समावेश गरेको विरोधमा प्रदर्शन गरिएको गजुरेलले बताए।
यस्तै, सरकारले झापाको बीएण्डसी मेडकल कलेजलाई सम्बन्धन दिन लागेको विषयमा समेत उनीहरूले विरोध जनाएका छन्। सरकारकै संरक्षणमा शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा माफिया र दलालिकरण बढेको भन्दै त्यसको विरोध गरिएको गजुरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।