फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ भने नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्।
शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै उनले निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत भएपनि सरकारको गलत कामका विरुद्ध सडकमा आउनुको विकल्प नभएको उल्लेख गरेका हुन्।
'निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत हो। तर, जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, काेराेनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन', थापाले लेखेका छन्।
चिकित्सा शिक्षा आयोगको बैठकबाट बीण्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा शुक्रबार बृहत् नागरिक आन्दोलनका अभियन्ताले शुक्रबार बालुवाटारमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूलाई पक्राउ गरेपछि थापाको यस्तो भनाइ आएको हो।
प्रहरीले खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबुलाई पक्राउ गरेको बृहत् नागरिक आन्दोलनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।