काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुखसँग गरेको छलफल सुरु भएको छ। तर, छलफलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने अनुपस्थित छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहोरा र नेमकिपाबाट प्रेम सुवाल सहभागी रहेकाे सभामुखकाे सचिवालयले जनाएकाे छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भर्चुअल माध्यमबाट सहभागी भइरहेका छन्। सभामुखले प्रतिनिधि सभा विघटनपछि उत्पन्न अवस्थाबारे नेताहरुसँग छलफल थालेका हुन्।
सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श गरिरहेका छन्। छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीसहित दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाई बुधबार नै पत्र पठाइएको थियो।

सभामुख सापकोटाले यसअघि जेठ ११ गते पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए। छलफलमा सहभागीहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेका थिए।
त्यस्तै, उनले जेठ १३ गते संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका थिए। सो छलफलमा कतिपयले सभामुखलाई थप सक्रियता देखाउन भनेका थिए।
त्यसयता पनि सभामुखले अनौपचारिक छलफललाई निरन्तरता दिइरहेका छन्। उनले विषयका जानकार, नागरिक समाजका अगुवा तथा बौद्धिक व्यक्तित्वहरुलाई भेटिरहेका छन्। प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सभामुख सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।