काठमाडौं- नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले गणेश लामालाई प्रहरीले प्रतिशोधपूर्वक पक्राउ गरेको भन्दै विरोध जनाएको छ। काभ्रेका कांग्रेस जिल्ला सभापति मधु आचार्यले एक विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब स-सम्मान रिहाइको माग गरेका छन्।
नेपाली कांग्रेस काभ्रेका नेता तथा गत आमनिर्वाचनमा प्रदेस सभा क्षेत्र नं १ “ख” बाट उम्मेदवार रहेका लामालाई केपी ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेश सरकारको मिलोमतोमा बिहीबार साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको भन्दै घटनाको विरोध गर्दै आचार्यले उनको अबिलम्ब रिहाइको माग गरेका हुन्। 'अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी हर्कत बिरुध्द सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं' विज्ञप्तिमा भनिएको छ।
'गुण्डागर्दी' पृष्ठभूमिबाट राजनीतिमा आएका लामालाई बिहीबार कास्कीको पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। लामालाई इलाका प्रहरी कार्यालय बैदाममा राखिएको छ। निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सोधुपछका लागि लामालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ। गुण्डा नाइके भनेर चिनिएका लामा पछिल्लो समय नेपाली कांग्रेससँग आवद्ध छन्।
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएको थियो। साेही अनुसार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राेखका उनले विश्वासको मत पाउन सकेनन्। प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत रहेका राजीव गुरुङ (दीपक मनाङे) बिहीबार बिहानैदेखि सम्पर्कविहीन भएका थिए। उनी प्रदेश सभा बैठकमा सहभागी समेत भएनन्।
कतिपयले मनाङे लामासँगै रहेको अनुमान पनि गरेका थिए। मनाङे समेत यसअघि गुण्डा नाइके भनेर चिनिने गरेका थिए। तर, कास्की प्रहरीले भने मनाङे सम्पर्कविहीन हुनुसँग लामाको कुनै सम्बन्ध नरहेको दाबी गरेको थियो। मनाङे बिहीबार बेलुकै लेकसाइडमा फेला परेका थिए भने उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।