काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारमा संविधानले तोकेको भन्दा धेरै मन्त्री भएको दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
अधिवक्ता कमलसिंह राना, अपेक्षा निरौला र बाजुराका सुरेश रोकायाले संविधानको धारा १६८ ले तोकेको मापदण्ड भन्दा सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरुको संख्या धेरै भएको जिकिर गर्दै रिट दायर गरेका हुन्।
हाल सुदूरपश्चिम प्रदेशमा ६ वटा मन्त्रालय कायम रहेको र ११ मन्त्री बनाएकाले यो कार्य अन्तरिम आदेशवाट बदर हुनुपर्ने जिकिर रिटमा गरिएको छ।
जेठ १४ गते विस्तार भएको मन्त्रिमण्डलले संविधानको धारा १६८ को उपधारा ९ लाई मिचेको दाबी उनीहरुले रिटमा गरेका छन्।
जेठ १४ गते ४ मन्त्री र ४ राज्यमन्त्री गरि ८ जना थप गरेर ११ जनालाई मन्त्री बनाएको भन्दै यो कार्य गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ।
सुदूरपश्चिममा १ जना मुख्यमन्त्री ६ जना मन्त्री र ४ जना राज्यमन्त्री गरि कुल ११ जनाको मन्त्रिमण्डल गठन गरिएको छ। यसरी थपिनेमा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, उद्योग पर्यटनमा मानबहादुर धामी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला मन्त्री पूर्णा जोशी रहेका छन्।
त्यस्तै भौतिक पूर्वाधार राज्यमन्त्रीमा चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्रीमा मिना कुमारी साउद आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा विनितादेवि चौधरीको नियुक्ति भएको थियो।
यसरी नियुक्ति गर्दा संविधानको धारा १६८ को उपधारा ९मा रहेको मुख्यमन्त्रीसहित प्रदेश सभाको कुल २० प्रतिशत भन्दा बढी नहुने गरि मन्त्रिपरिषद गठन गर्ने छ, भन्ने व्यवस्थाको उल्लंघन भएको जिकिर रिटमा गरिएको छ।
प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र ३२ र समानुपातिक तर्फ २१ गरि ५३ हुने भएकाले हाल भएका मन्त्रीको संख्या संविधानले तोकेको भन्दा बढी भएको रिटमा उल्लेख गरिएको छ।
५३ जनाको २० प्रतिशत भनेको १०.६० हुने भएकाले १० जना भन्दा धेरै बनाउन नमिल्ने जिकिर रिटमा गरिएको छ। सुदूरपश्चिम सरकारले शून्यान्तर गर्दै एक मन्त्री बढी थपेको जिकिर रिटमा गरिएको छ।
हाल प्रदेश सभामा कायम संख्या हेर्दा ५२ मात्र भएकाले यसमा हेर्दा १०.४० मात्र बनाउन पाउने भएकाले यो कार्य अवैधानिक र संविधानको धारा १६८ को उपधारा ९ विपरित मन्त्रिपरिषद विस्तार भएको जिकिर रिटमा गरिएको छ।उक्त रिटको पेशी आइतबारलाई तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।