काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएको कर्णाली प्रदेश सभाको बैठक बिहीबारदेखि शुरु भएको छ।
सभामुख राजबहादुर शाहीको अध्यक्षमा बिहीबार बसेको सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार प्रदेश सभा बैठक शुरु भएको हो।
प्रमुख प्रतिपक्षी दल एमालेले भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएको थियो। फौजदारी कसूरमा दोषी ठहर भएर सजाय भुक्तान गरिसकेका व्यक्तिलाई मन्त्रीबाट बर्खास्त गरिनुपर्ने भन्दै एमालेले गर्दै आएको अवरोधका कारण विगत केही दिनदेखि प्रदेश सभा बैठक चल्न सकेको थिएन।
बिहीबार बसेको सर्वदलीय बैठकमा भौतिक पूर्वाधार मन्त्री थापालाई सभामा उपस्थित नगराउने सहमति जुटेको हो। मन्त्री थापाविरुद्ध दायर भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको र मुद्दाको अन्तिम किनारा नलागेसम्मलाई बैठकमा उपस्थित नगराउने सहमति जुटेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।