फाइल तस्वीर।
काठमाडौं- यसपटक मन्त्रीका लागि सर्वाधिक चर्चा गरिएका नेकपा (एमाले)का नेता महेश बस्नेत बिहीबार भएको मन्त्रिमण्डल विस्तारमा अटाएनन्। उनले गृहमन्त्रीका लागि पहल गरिरहेको चर्चा चलेको थियो। तर, खगराज अधिकारी गृहमन्त्री बनाइए।
महेशको मन्त्रीका लागि चर्चा हुनु स्वभाविक पनि थियो किनकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र हुन्। कतिसम्म भने उनले 'प्रधानमन्त्रीले भने धरहराबाट हाम्फाल्न तयार छु' भन्ने अभिव्यक्ति समेत दिने गरेका थिए। तर, बिहीबार सात मन्त्री थपिँदा पनि उनी टिममा परेनन्।
त्यसपछि बिहीबारै सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै बस्नेतले राजनीतिक जीवनमा आफूले पद प्राप्तिलाई कहिल्यै ठूलो विषय नबनाएको बताएका छन्। उनले आफूले पार्टीभित्र मात्र नभएर बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्नेगरी काम गरेको बताएका छन्।
उनले हरेक पटक मन्त्रिमण्डल विस्तार/पुनर्गठन हुँदा आफ्नो चर्चा हुने गरेको समेत उल्लेख गरेका छन्।
'पटक-पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा व्यापक लाग्नु हुन्छ। मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ठान्छन्', बस्नेतले लेखेका छन्, 'मेरो बिरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ। जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।'
उनले आफू मन्त्री हुन नपाउँदैमा गुट नफेर्ने समेत बताएका छन्। 'त्यस्तो भ्रममा नपरौं म जहाँ छु त्यहीँ छु। र, म जे छु त्यही छु। अझै जोस, जाँगर र ऊर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा विकास गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टि हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।