काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा नैनकला थापालाई नियुक्त गरेका छन्। थापासहित थपिएका भन्त्रीको शपथ आजै दिउँसो ४ बजे हुँदैछ। नैनकला थापा यसअघि गृहमन्त्री रहेका एमाले नेता रामबहादुर थापा ‘बादल’की श्रीमती समेत हुन्।
उनले यसअघि सांसद, मन्त्री जस्ता कुनै लाभको पद समेत नलिएको एक पूर्वमाओवादी नेताले बताए। पार्टीको महिला संगठनको महासचिव र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महिला आयोगको अध्यक्ष हुनुबाहेक थापा अरु कुनै जिम्मेवारीमा नबसेको ती नेताले बताए।
थापा माओवादी शान्ति प्रक्रियामा आएपछि निष्क्रिय जस्तै भएकी थिइन्। उनले तत्कालीन माओवादीको सल्लाहकारमा अर्थात् मानार्थ भई भूमिका निर्वाह गरेकी थिइन। त्यो भन्दा धेरै थापाले पार्टीमा सक्रिय भएर काम गरिनन्।
माओवादी 'जनयुद्ध'मा हुँदा २०५५ साचलदेखि बादलको निजी सचिवालयमा रहेर काम गरेकी थिइन्। बादललाई सांस्कृतिक विचलनको आरोप लागेपछि थापा स्थायी शिक्षकबाट राजीनामा दिएर बादलको निजी सचिवालयको रुपमा भूमिका निर्वाह गरेकी थिइन्।
‘शिक्षक पेशामा हुँदा शिक्षण पेशासँगै महिलासँग अवद्ध हुनुहुन्थ्यो। राजनीतिमा समेत निक्कै सक्रिय हुनुहुन्थ्यो। त्यतिबेला महिला संगठनको महासचिव समेत हुनुभयो’ ती नेताले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीमा खास्सै सक्रिय हुनुभएन। मानार्थ राखेजस्तो गरेर केन्द्रीय सल्लाहकारमा राखिएको थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।