काठमाडौं- नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गरेकी ज्लालाकुमारी साह संघीय सरकारको मन्त्री बन्ने भएकी छिन्। उनले बिहीबार अपराह्न ४ बजे सपथ लिँदैछिन्।
प्रदेश २ की प्रदेश सभा सदस्य समेत रहेकी ज्वाला फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले प्रवेश गरेकी थिइन्। प्रभु साह एमाले प्रवेश गरेपछि उनीनिकट मानिने ज्वाला पनि एमाले प्रवेश गरेकी थिइन्।
मन्त्रिपरिषद् विस्तारमा ओलीले पूर्वमाओवादी समूहलाई भागबण्डा गर्दा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा र ज्वालाकुमारी साह मन्त्री बनाइएका हुन्।
ज्वालासँगै माओवादीले कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र रामचन्द्र मण्डललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर, जवाफ नदिएपछि दल त्यागको सूचना प्रदेश संसद् सचिवालयमा दिएको थियो। त्यसपछि उनीहरु सबै पदमुक्त भएका थिए।
ज्वालाले गत निर्वाचनमा बारा-३ (क) बाट निर्वाचित भएकी थिइन्। उनले ११ हजार ७७१ मत पाएकी थिइन्। उनका प्रतिस्पर्धी कांग्रेसका रामानन्द प्रसाद यादवले १० हजार १४७ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।