काठमाडौं- गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन्।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित भएका हुन्। जनमोर्चाका सांसद कृष्ण थापा भने बैठकमा उपस्थित भएका छन्।
विपक्षी गठबन्धनको पक्षमा रहने बताएका मनाङे बुधबार रातिदेखि सम्पर्क विहीन भएका छन्। मनाङेले प्रयोग गर्दै आइरहेका मोबाइल नम्बरहरुमा सम्पर्क हुन सकेको छैन।
बिहीबार बसिरहेको प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन्। गुरुङको पक्षमा संसद्मा बहुमत पुग्ने आधार छैन।मनाङे विपक्षी गठबन्धनको पक्षमा देखिँदा नयाँ सरकार बन्ने अवस्था निर्माण भएको छ। संविधानको १६८ (५) अनुसार बन्ने सरकारका लागि विपक्षी गठबन्धनलाई एक मत भए पुग्ने देखिएको छ। ३० सांसद रहेको विपक्षी गठबन्धनमा मनाङे थपिँदा बहुमत पुग्दछ।
वैशाख १६ मा मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालय को जिम्मेवारी मनाङेलाई दिएका थिए। सत्ता टिकाउन मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय टुक्राएर युवा तथा खेलकुद मन्त्रालय थपेका थिए।
त्यस्तै उपसभामुख सृजना शर्मापनि बैठकमा अनुपस्थित छन्। दुर्घटनामा परेपछि उनी बैठकमा अनुपस्थित भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।