काठमाडौं- प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।
सभामुख सरोजकुमार यादवले बुधबारको प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन्। प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक बुधबार आज पुनः सञ्चालन भएको थियो।
सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा(एमाले) नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए।
बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिबद्धता व्यक्त गर्दै सोका लागि कानूनमन्त्रीलाई निर्देशन दिएका थिए।
यसैबीच मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन्। उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।