काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको संसद विघटनसम्बन्धी मुद्दाको अन्तिम सुनुवाई ३२ घण्टामा सकिने भएको छ। विषयकेन्द्रित बहस थालिएको पहिलो दिन (बुधबार)को सुनुवाइ पछि संवैधानिक इजलासले ३२ घण्टा भित्रै अन्तिम सुनुवाइ सक्ने गरी समय निर्धारण गरेको हो।
फैसलाका लागि हुने बहस व्यवस्थित बनाउन पक्ष तथा विपक्षका कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीका लागि बहसको समय नै तोकिदिएको छ।
प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले वहशको समय नै तोकेर बुधबार आदेश गरेको छ। सर्वोच्चको यो आदेशपछि प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको सुनुवाई ३२ घन्टामा सकेर फैसला सुनाइने छ।
‘इजलास समक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदक तर्फका कानुन व्यवसायीहरुका लागि शुरु बहसका सन्दर्भमा बढीमा १२ (बाह्र) घण्टा (कार्यसमय) र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कूल तीन घण्टा समय गरी कूल (अधिकत) १५ घण्टा बहसका लागि समय प्रदान गरिने छ’, आदेशमा भनिएको छ ‘ सरकारी वकिलहरुसहित प्रत्यार्थीहरु तर्फका सवै कानुन व्यवसायीहरुका लागि कूल (अधिकतम्) १५ (पन्ध्र) घण्टा मात्र कार्य–समय (बहस समय) प्रदान गरिने छ।’
आदेशमा एमिकस क्युरीका तर्फबाट प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ताहरुका लागि जनही आधा घण्टाका दरले चार जनाको लागि कूल दुई घण्टा मात्र बहसका लागि समय प्रदान हुने उल्लेख छ।
रिट निवेदक तथा प्रत्यार्थीहरुका तर्फबाट बहसका लागि उपस्थित हुने कानुन व्यवसायीहरुले उपरोक्तअनुसार निर्धारित समय–सीमाभित्र बहस कार्य सम्पन्न गर्नका लागि सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम २१ को उपनियम (१०) बमोजिम प्रमुख कानुन व्यवसायी र अन्य कानुन व्यवसायीको संख्या, बहस गर्ने बँदा यकिन गर्ने समेत आदेशमा भनिएको छ।
बहस व्यवस्थापनका लागि सरकारी वकिल र प्रत्यार्थीतर्फका अन्य कानुन व्यवसायीहरुबीच अन्यथा सहमति कायम हुन नसकी अदालतबाट समय विभाजन गर्नु पर्ने हुन आएको अवस्थामा सरकारी वकिलहरुका लागि कूल ७ घण्टा ३० मिनेट र प्रत्यर्थीहरु तर्फका अन्य सवै कानून व्यवसायीहरूका लागि कूल ७ घण्टा ३० मिनेट समय निर्धारण गरिने समेत आदेशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।