काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का महन्थ ठाकुर र राजेन्द्र महतोपक्षलाई आवश्यक कागजपत्र ल्याउन दिएको समय शुक्रबार सकिँदै छ।
यो हप्ताभित्र महन्थ-राजेन्द्रपक्षले सबै कागजपत्र उपलब्ध गराएमा पार्टी विवाद निरुपनका विषयमा तत्काल निर्णय हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
‘हामीले दुवै पक्षलाई आवश्यक डकुमेन्ट उपलब्ध गराउन निर्देशन दिएका छौं। बाबुराम-उपेन्द्रपक्षले तत्काल उपलब्ध गराउनुभयो। महन्थ-राजेन्द्रपक्षले हप्ता दिनको समय माग्नुभयो त्यो समय यो हप्ता सकिँदै छ,’ प्रवक्ता श्रेष्ठले भने,‘दुवै पक्षबाट डकुमेन्ट उपलब्ध भएमा तत्काल पार्टी विवादका विषयमा निर्णय हुन्छ।’
आयोगले दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी ऐनको अनुसूची १८ को ढाचा विवरण र केन्द्रीय समितिको निर्णयसहितको हस्ताक्षर पेस गर्न निर्देशन दिएको थियो।
आयोगले पार्टीमा देखिएको विवादबारे निर्णय लिन कागजपत्र अपुग भएको भन्दै दुवै पक्षलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो। बाबुराम-उपेन्द्रपक्षले तत्काल उपलब्ध गराए पनि महन्थ-राजेन्द्रपक्षले कोरोना महामारीका कारण तत्काल उपलब्ध गराउन नसक्ने भन्दै हप्ता दिनको समय मागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।