महान्यायाधिवक्ता रमेश बडाल
काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि महान्यायाधिवक्ता रमेश बडाल रिट निवेदक भन्दा अघि नै इजलासमा पुगेका छन्।
उनीसँगै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे पनि इजलासमा उपस्थित भएका छन्। मुद्दाको आज पेशी तोकिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका छन्।
आइतबारपछि सुनुवाइ हुन नसकेको यो मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीशले बुधबारका लागि पेशी तोकेका थिए। त्यसका लागि उनले दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न इजलास तोकेका हुन्।
यसअघि सोमबार पेशी तोकिएको हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि स्थगित भएको थियो। मंगलबार पनि प्रधानन्यायाधीश राणा अदालत उपस्थित हुन सकेनन्।
इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । यसअघि शुरुमा रिट निवेदक पक्षका कानुन व्यावासायीहरुले इजलास गठनमा प्रश्न उठाएका थिए भने प्रधानन्यायाधीश राणाले आइतबार इजलास पुनर्गठन गर्दै वरिष्ठताको आधारमा गठन गरेपछि सरकार पक्षले त्यसको विरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।