काठमाडौं– नेकपा (एमाले)का नेता योगेश भट्टराईले शीर्ष नेताकै कारण पार्टी एक हुन नसकेको बताएका छन्। शीर्ष नेताबीचको संवादहीनताले नै पार्टीमा विवाद देखिएको उनको ठहर छ। पार्टी अहिलेको अवस्थामा पुग्नुको पछाडि शीर्ष नेता त्रयबीचको संवादहीनता नै प्रमुख कारण रहेको नेता भट्टराईले बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली तथा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पार्टीमा उत्पन्न समस्या आपसी छलफलबाट समाधान गर्नुको साटो अन्य दलका नेताको पछि लागेकाले पार्टीसँगै समग्र देशकै राजनीति अहिलेको अवस्थामा पुगेको भट्टराईको भनाइ छ।
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’
यसको पछाडिकसैको स्वार्थ रहेको भन्दै उनले उसैलाई एमाले एकताको समस्याको मूल जड भनेका छन्।
पार्टीमा देखिएको विवाद समाधानका लागि शीर्षनेताबीच गम्भीर छलफल भएमात्र एमालेको एकता बचाउन सकिनेसमेत उनको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।