काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभा बैठक अब बुधबार बस्ने भएको छ।
एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलबार पनि प्रदेशसभा बैठक बस्न सकेन।
प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए।
दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए।
मंगलबार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भयो। त्यसको टुङ्गो नलागेपछि बैठक नै बस्न सकेन।
दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।