काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको लागि भनेर अध्यक्ष ओलीबाट इमान्दार प्रयास नभएको बताएका छन्।
पार्टी एकताको आह्वान गर्दै अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरिएको गौतमको टिप्पणी छ।
ओलीले आइतबार एकताको आह्वान गरेपछि सोमबार साँझ पार्टी एकता अभियानको कार्यसम्पादन समितिका सदस्यहरुको भर्चुअल बैठक बसेको गौतमले जानकारी दिएका छन्।
उक्त बैठकले पार्टी एकताको आह्वानसहित ओलीबाट अगाडि सारिएको ६ बुँदे प्रस्तावको १ नम्बर बुँदामा उल्लेख भएको 'नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ' भनेको विषयलाई सकारात्मक रुपमा लिएको गौतमको भनाइ छ।
'तर सोही बुँदामा एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ। त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न,' आफू नेतृत्वको एकता अभियानको बैठकमा भएको छलफल पछि गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
नेता गौतमले संसद विघटनविरुद्ध विपक्षी गठवन्बनका निवर्तमान सांसदहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा एमालेका निवर्तमान सांसदहरुको समेत हस्ताक्षर समावेश भएको विषय पार्टी एकताबद्ध भएपछि मात्रै समाधान गर्न सकिने बताएका छन्।
नेता गौतमले २ जेठ २०७५ अगाडिको नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाएर समस्या समाधान गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।