काठमाडाैं- नेपाली कांग्रेसका युवा नेताहरुले तोकिएको समयमा महाधिवेशन गर्नका लागि मोडालिटी परिवर्तन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाएका छन्। क्रियाशील सदस्यता र कोरोना संक्रमणका विषयमा नेताहरुले देउवालाई सुझाव दिएका हुन्।
गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, धनराज गुरुङ र बद्री पाण्डे सभापतिलाई भेट्न देउवानिवास बूढानीलकण्ठ पुगेका थिए।
मंगलबार विहान देउवानिवास पुगेका युवा नेताहरुले महाधिवेशनको कार्यतालिका छोट्याउन सभापतिलाई सुझाएका थिए। क्रियाशील सदस्यता टुंगो नलागेर महाधिवेशन गर्न नसकिने स्थिति नभएको क्रियाशील सदस्यता छानविन समितिका सदस्य प्रदीप पौडेल सभापतिलाई सुनाएका थिए।
हालसम्म नाै लाख क्रियाशील सदस्यता वितरण भएको छ। क्रियाशील छानविन समितिले केही दिनमा करिब आठ लाख सदस्यको नामावली पनि सार्वजनिक गर्दैछ। प्राप्त आठ लाखमध्येका केही सदस्यमा मात्रै विवाद हुने र त्यसको निरुपण गर्न सकिने पौडेलको भनाइ थियो। क्रियाशील सदस्यता छानविनको क्रममा नेतृत्वले सजगता नपनाए ठूलो विवाद नआइ सदस्यको टुंगो लाग्ने पौडेलले देउवालाई सुनाएका थिए।
क्रियाशील सदस्यताका कारण महाधिवेशन रोकिन नपर्ने कारण प्रस्ट्याएपछि युवा नेताहरुले कोरोनाको बारेमा पनि देउवालाई विकल्पहरु सुझाएका थिए। महामारीको बेला भएकाले विगतभन्दा यसपटक फरक तरिकाले महाधिवेशन गर्न सकिने विकल्प अघि सारिएको थियो। महाधिवेशनलाई विकेन्द्रित गरेर गर्न सकिने थापा, भण्डारी, गुरुङलगायतका नेताको सुझाव थियो।
कोभिडको स्थिति अझ बढ्न पनि सक्नेतर्फ ध्यान दिँदै महाधिवेशन पनि गर्न सकिने उनीहरुको धारणा थियो। ‘जति भयावह भए पनि महाधिवेशन गर्नैपर्ने हुन्छ। त्यसका लागि कार्यतालिका छोट्याउन सकिन्छ। धेरै जनालाई एकै स्थानमा जम्मा हुन नपर्ने गरी विधि अपनाऔं।’ नेताहरुले देउवालाई प्रस्ताव राखेका थिए।
युवा नेताहरुले विकल्पका बारेमा कुरा गरेपछि देउवाले ‘त्यस्तो विधि के हुन्छ?’ भनी प्रश्न गरेका थिए। पत्रकार महासंघले अवलम्बन गरेको विधिमार्फत् जिल्ला/जिल्लाबाट मत खसाउन सकिने विकल्प सुझाइएको थियो। एउटा क्षेत्रको २५ जना मतदाता हुने भएकाले भीडभाड नहुने तर्क देउवालाई युवा नेताहरुले सुनाए। सात सय क्रियाशील सदस्य भएको कुनै स्थान छ भने त्यहाँ सात ठाउँमा बुथ राखेर मतदानको व्यवस्था गर्न सकिने उनीहरुले सुनाए। त्यसले पनि भीडभाड हुन्छ जस्तो लागे बुथ बढाउन सकिने राय दिइएको थियो।
युवा नेताहरुले दिएको सुझावलाई कार्यान्वयनमा लैजानेबारे भने देउवाले कुनै प्रतिक्रिया दिएनन्। पदाधिकारी बैठक डाकेर छलफल गर्ने वचन देउवाले दिए। महाधिवेशनको सुनिश्चिताका लागि दबाब बढाउन गएका युवा नेताहरुले देउवाबाट ठोस प्रतिक्रिया भने पाउन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।