काठमाडाैं– सुदूरपश्चिम प्रदेशमा एमालेको विवादले हातपातको रुप लिएको छ। हातपातमा एकअर्कामा दोषारोपण गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी (माधव नेपाल पक्ष) र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रदेश सचिव राजेन्द्र रावलबीच विवाद उत्पन्न भई हातपातको रुप लिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले आफूमाथि मन्त्रालयमै हातपात गरेको आरोप एमालेका प्रदेश सचिव रावलले लगाएका छन्। अर्कोतर्फ, रावलले मन्त्री सोडारी नै हातपातमा उत्रेको आरोप लगाएका छन्।
हातपातमा उत्रेका दुबै पक्षले एक अर्कालाई कारबाहीको माग गर्दै विज्ञप्ति पनि निकालेका छन्। प्रधानमन्त्री ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाले मन्त्री सोडारीलाई कारबाहीको माग गर्दै विज्ञप्ति निकालेका छन्। यता, मन्त्री सोडारीका स्वकीय सचिव ललितबहादुर बोहराले सोमबार साँझ विज्ञप्ति निकाल्दै कार्यकक्षमा रावलले मन्त्रीमाथि दुव्र्यवहार गरेको दाबी गरेका छन्।
मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीको निर्देशन सहितको पत्र थमाउन रावल मन्त्रीको कार्यकक्ष पुगेका थिए। दुई पक्षबीच भनाभन भएको थियो।
एमालेको ओली पक्षले मन्त्री सोडारीविरुद्ध प्रहरीमा उजुरी दिने समेत बताएको छ। ‘अशिष्ट, निन्दनीय गैर जिम्मेवार कार्य सोडारीबाट भएको छ। पदीय मर्यादा विपरितको घटना सोडारीबाट गरिएको छ,’ ओली पक्षका सुदूपश्चिम अध्यक्ष कर्ण थापाले भने, ‘पार्टीको पत्र बुझाउन जाँदा कुर्चीबाट उठेर आएर हमला गरेका छन्। सोडारीलाई कानुनी कारबाही गर्ने प्रक्रियामा पनि हामी जान्छौं।’
सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो छ। २५ सांसद मध्ये प्रदेश सभामा १८ जना माधव पक्षका सांसद छन्। माधव पक्षकै सांसदको बलमा मुख्यमन्त्री भट्टको सरकार जोगिने भएको छ। माधव पक्षका सांसद मन्त्रिमण्डलमा पनि सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।