काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षले प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुने बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति वक्तव्य जारी गर्दै सर्वोच्च अदालतमा प्रस्तुत गरिएको हस्ताक्षर फिर्ता हुने बताएका थिए।
‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ’, ओलीको वक्तव्यमा भनिएको थियो।
प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा आफूहरुले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको नेपाल पक्षको भनाइ छ।
‘उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’, सोमबार सम्पन्न नेपाल पक्षको स्थायी कमिटीका पदाधिकारी तथा सदस्यहरुको बैठकको निर्णय बमोजिम जारी वक्तव्यमा भनिएको छ।
शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै माधव नेपाल पक्षका २६ सांसद्ले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए। तर प्रतिनिधि सभा विघटन गरिएपछि नेपाल पक्षका २३ सांसद् सहित १४६ जना सांसद्ले सर्वोच्च अदालतमा रिट दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।