टाेकियाे- जापानले विदेश भ्रमणमा जाने नागरिकलाई ‘खोप पासपोर्ट’ दिने तयारी गरेको छ। कोरोनाविरुद्धको खोप लगाएर व्यावसायिक भ्रमण तथा अन्य आर्थिक गतिविधिमा जानेलाई खोप पासपोर्ट दिन लागिएकाे हाे।
विशेषगरी व्यापारीहरुलाई लक्षित गरी यस्तो योजना ल्याइएको हाे। जापान फर्किने व्यक्ति र बाहिर अध्ययन तथा व्यावसायिक प्रयोजनका लागि जानेहरुले उक्त पासपोर्ट देखाउनुपर्नेछ।
जापानका अधिकारीहरुले यस वर्षको अन्तिमसम्ममा स्मार्टफोन एपको माध्यमबाट आफ्नो खोप पासपोर्ट देखाउन सकिने गरी तयारी भइरहेको बताएका छन्। यद्यपि, यस वर्षको लागि भने कागजी प्रमाणपत्र आवश्यक पर्ने उनीहरुको भनाइ छ।
धेरै मुलुकले कोरोना खोप लगाएको प्रमाणपत्र दिने र त्यसको आधारमा भ्रमणको अनुमति दिन खोप पासपोर्टको सुरुवात गरिसकेका छन्। युरोपेली संघले आगामी जुलाईबाट यो योजना कार्यान्वयनमा ल्याउँदैछ।
यद्यपि, आलोचकहरुले भने याे नीतिले खोप लगाएका र नलगाएकाबीचको विभेद बढाउन सक्ने बताउँदै आएका छन्।
अमेरिकाको न्युयोर्कमा खोप पासपोर्टको लागि एक स्मार्टफोन एप सार्वजनिक गरिएको छ। यो एप अहिले १० लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन्। तर, जर्जियाले भने यस किसिमको एपमा प्रतिबन्ध लगाएको छ।
खोप पासपोर्टलेविभेद बढाउने उनीहरुकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।