दिल्ली- भारतको केन्द्रीय सरकारले १८ देखि ४१ उमेर समूहका नागरिकलाई नि:शुल्क कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले साेमबार राष्ट्रको नाममा सम्बोधन गर्दै जून २१ देखि नि:शुल्क खोप दिइने बताएका हुन्।
‘यो गत सय वर्षमा सबभन्दा ठूलो महामारी हो, यो त्रासदी हो। आधुनिक विश्वले यस्तो महामारी देखेको थिएन। न त अनुभव गरेका थिए।’
उनले भारतमा पनि कोरोनाले धेरै असर गरेको बताएका छन्। ‘यति ठूलाे विश्वव्यापी महामारीको साथ हाम्रो देशले धेरै मोर्चामा एकसाथ लडेको छ। दोस्रो लहरको बेला भारतमा अक्सिजनको माग अप्रिल र मे महिनामा अकल्पनीय रूपमा बढेको थियो,’ उनले भने,‘ इतिहासमा यति मात्रामा अक्सिजनको आवश्यकता कहिल्यै महसुस भएको थिएन। यो आवश्यकता पूरा गर्न युद्धस्तरमा काम भएको थियो, सरकारका सबै संयन्त्रहरू संलग्न थिए।’
खोप निर्माणमा स्वदेशी अनुसन्धानकर्ताहरु सफल भएको भन्दै उनले विदेशी दाताहरुसँग भर पर्न नपरेको भन्दै खुशी व्यक्त गरे। ‘यदि पछिल्लो ५०–६० वर्षको इतिहासलाई हेर्नुभयो भने तपाईंलाई थाहा हुन्छ यस्तो परस्थितिमा भारतलाई विदेशबाट खोप लिन दशकौं लाग्थ्यो। विदेशमा खाेपको काम सकिएपनि हाम्रो देशमा सुरु हुन सक्ने थिएन,’ उनले भने।
खोप उत्पादनले नै स्थिति नियन्त्रणमा लिन सकिएको उनको भनाइ छ। ‘हरेक आशंकालाई वेवास्ता गरेर भारतले एक वर्षमा दुई खोप बनायो। हाम्रो देशका वैज्ञानिकहरूले देखाए भारत ठूला देशहरू भन्दा पछाडि छैन। आज खोप उत्पादन देशमा खोपको मागको तुलनात्मक रुपमा थोरै छन्। कल्पना गर्नुहोस् यदि हामीले खोप नबनाएको भए आज भारतजस्तो विशाल देशको अवस्था के हुन्थ्यो होला?,’ उनले थपे।
उनका अनुसार अहिलेसम्म २३ करोडभन्दा बढीलाई खोपको डोज दिइसकेको छ। कोरोनाविरुद्धको खोपको आपूर्ति आगामी दिनमा बढाउने जानकारी पनि उनले दिए।
‘खोपको आपूर्ति आगामी दिनमा अझ बढ्ने छ। यसका लागि लामो समयदेखि निरन्तर प्रयास र कडा मेहनत गर्दै आएको छौं। आज ७ कम्पनीहरूले देशमा विभिन्न किसिमका खोपहरू उत्पादन गरिरहेका छन्। थप तीनवटा खोप परीक्षण परीक्षणको क्रममा रहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।