काठमाडाैं- सुडानको दक्षिण डार्फुरमा अरब र गैरअरब नागरिकबीच भएको झडपमा कम्तिमा ३६ व्यक्तिको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्।
दक्षिण डार्फुरको दुर्गम उम डफुक इलाकामा शनिबार अरबी ताइशा र अफ्रिकी फल्लाटा जनजातिबीच झगडा भएको थियो।
सुडानको समाचार एजेन्सी सुनाले सोमबारसम्म शान्ति पुनःस्थापित भएको जनाएको छ।
‘ताइशा र फल्लाटा जनजातिबीचको द्वन्द्व सुल्झाउन उक्त क्षेत्रमा सेना खटाइएको थियो। यद्यपि, घटनामा ३६ मारिए र ३२ जना घाइते भए,’ सुनले आइतबार दक्षिण डार्फुरका अधिकारीहरुलाई उद्धृत गर्दै भनेको छ।
यो झडप के कारण भयो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। तर, यस्तै झगडा प्रायः डार्फुर क्षेत्रमा जमिन र पानीको पहुँचको लागि हुने गरेको छ।
उम डफुक निवासी एसा ओमरले एएफपी समाचार एजेन्सीलाई भने,‘हामीले युद्धमा भारी हतियारको आवाज सुन्यौं। यो युद्ध शनिबार शुरु भएको थियो र आइतबार पनि जारी रह्यो।’
पश्चिमी सुडानमा अवस्थित विशाल डार्फुर क्षेत्र हालका महिनाहरूमा हिंसाको घटना बढेको छ।
अप्रिलमा पश्चिम डार्फुरमा मसालिट जनजाति र अरब समुदायका नागरिकबीच भएको झगडामा कम्तिमा १३२ जना मारिएका थिए। त्यसपछि अधिकारीहरूले आपत्कालिन अवस्था लागू गरेका थिए।
जनवरीमा पश्चिम र दक्षिण डार्फुर क्षेत्रहरूमा अरब र गैरअरब नागरिकबीच भएको झडपमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।