काठमाडाैं- प्रदेश २ मा केन्द्रमा बनेको गठबन्धन अनुसारको सरकार बन्ने भएको छ। जनता समाजवादी (तत्कालीन संघीय समाजवादी) को नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गर्ने भएका हुन्।
केन्द्रीय गठबन्धनको नीतिअनुरुप नै राउतले महन्थ ठाकुरपक्षीय चार जना मन्त्रीलाई आइतबार बर्खास्त गरेका छन्। महन्थपक्षका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई आइतबार बर्खास्त गरिएको थियो। केन्द्रको गठबन्धनअनुसार सत्ता समीकरण हुने भएपछि राउतले महन्थपक्षका मन्त्री हटाएका हुन्।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसले चाहेको थियो। तर, उपेन्द्र पक्ष बलियो रहेको हुनाले उसकै नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयमा कांग्रेस पुगेको छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिले जसपा अध्यक्ष उपेन्द्र यादवसँग कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए। बाँकी अवधि कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव निधिले उपेन्द्रसँग गरेका थिए। कांग्रेस र माओवादीको प्रदेशमा साथ खोजेका यादव थप छलफल गर्ने वचन दिँदै शनिबार जनकपुर गएका थिए।
यादवले जनकपुरमा रहँदा आफ्नो समूह थप शक्तिशाली बनाएका छन्। प्रदेश सभामा ३० सांसद रहेको यादवपक्षले महन्थ ठाकुर समूहका छ सांसद आफ्नो पक्षमा ल्याउन सफल भएको छ। संसद्मा हाल उपेन्द्रपक्षीय जसपाका ३६ सांसद पुगेका छन्। २५ सांसद रहेको महन्थपक्ष थप कमजोर बनेको छ। उक्त पक्षका छ सांसद घटेर १९ जनामा पुगेका छन्। ३६ जना सांसदको समर्थनसहित संसदीय दलको नेतामा राउत चुनिएका छन्।
जसपा (यादवपक्ष) ३६, कांग्रेसका १९ र माओवादीका आठ सांसदसहित राउत थप बलियो बनेका छन्। 'सरकारमा गएर वा नगएर पनि लालबाबु राउतको सरकारलाई समर्थन गर्ने निर्णय भएको छ,' कांग्रेस सांसद शिवचन्द्र चौधरीले भने, 'मन्त्रालयको बारेमा कुरा हुन पाएको छैन। हामीले समर्थन गर्ने निर्णय भने गरिसक्यौं। माओवादीले पनि समर्थन गर्ने निश्चित भएको छ।'
कांग्रेसले सरकारको नेतृत्वको अपेक्षा गरे पनि सम्भव नभएको चौधरीले बताए। केन्द्रकै गठबन्धन अनुसार अघि बढ्ने निर्णय तीन दलमा बनेको उनले सुनाए।
माओवादी केन्द्रले तीन सांसदलाई हटाएपछि प्रदेश सभा सदस्य १०४ जना छन्। बहुमतका लागि ५३ मत आवश्यक पर्दछ। तीन दलका ६३ सांसदको समर्थन राउतले पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।